(Translated by https://www.hiragana.jp/)
भेगनमा भेराइटी पस्किरहेको रेस्टुरेन्ट (भिडियो) – Online Khabar
+
+

भेगनमा भेराइटी पस्किरहेको रेस्टुरेन्ट (भिडियो)

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८१ वैशाख ३० गते १४:४६

काठमाडौं । पछिल्लो समय ‘भेगन’ अर्थात् माछा, मासु, दूध, दही, घिउ, बटर, चीज कुनै पनि जीव-जनावरको शरीरबाट निस्केका खानेकुरा नखाने मानिसको संख्या पनि बढिरहेको छ । यस्तो स्थितिमा भेगन रेस्टुरेन्टको खोजी निकै हुने गरेको छ । तर उनीहरूलाई नै लक्षित गरेर सहरमा धेरै कम रेस्टुरेन्ट सञ्चालनमा छन् ।

भेगनहरुलाई नै लक्षित गरेर ललितपुरको झम्सिखेलमा खुलेको भेगन हाउस क्याफे एण्ड रेस्टुरेन्ट भेज तथा भेगनहरुका लागि राम्रो विकल्प हुनसक्छ ।

भेगन हाउसका सञ्चालक कल्याण सिलवाल सानै उमेरदेखि जनावरप्रेमी थिए । कोरोनाको समयमा उनले धेरै भोका जनावरलाई खाना खुवाए, धेरै बिरामी जनावरलाई औषधि उपचार पनि गरे, जसले गर्दा जनावरप्रतिको माया बढ्दै गयो, जसले गर्दा उनी आफू भेगन भए ।

भेगन भइसकेपछि घरमा त खानका लागि समस्या भएन । घरमा दैनिक खाने भनेको दाल भात तरकारी नै हो । ‘दही, दूध, मासु त कहिलेकाहीं मात्र खाइन्छ त्यसैले त्यसलाई छाड्न खासै समस्या भएन,’ सिलवाल भन्छन् । तर उनको परिवार माछा-मासु नखाएपनि दूध-दही त खानुपर्छ, नत्र कमजोर भइन्छ भनिरहन्थे । साथै कामका लागि बाहिर निस्कँदा के खाने भन्ने तनाव भयो ।

सिलवाल आफ्नो पर्यटन व्यवसायको अफिस राख्नका लागि झम्सिखेल क्षेत्रमा ठाउँ खोजिरहेका थिए । त्यही क्रममा उनले झम्सिखेलको ठाडोढुंगा नजिक एउटा भेगन रेस्टुरेन्ट भेटे । अब उनी खाजा खान त्यहीं जान थाले । त्यहाँ खाजा खाने क्रममा त्यही रेस्टुरेन्टको माथिको फ्ल्याट खाली रहेको कुरा थाहा पाए र आफ्नो अफिस त्यही खोले । उनी त्यो भेगन रेस्टुरेन्टको नियमित ग्राहक बन्न पुगे ।

त्यो रेस्टुरेन्टमा एकदमै कम मान्छे मात्र खान आउने भएकाले रेस्टुरेन्ट घाटामा गयो र त्यो बिक्री हुन लागेको कुरा कल्याणले थाहा पाए । त्यो भेगन रेस्टुरेन्टको ठाउँमा मांसाहारी रेस्टुरेन्ट आउने कुरा उनले सुने । त्यो कुराले उनलाई दु:खी बनायो ।

अर्को दिन उनले सोचे- ‘यो भिगन रेस्टुरेन्ट बन्द हुन नदिन म नै किनौं कि’ । उनले त्यो रेस्टुरेन्टको सञ्चालकसँग कुरा गरे- ‘मैले यो भन्दा अगाडि रेस्टुरेन्ट त चलाएको छैन । तर म प्रयास गर्छु तपाईंहरु मलाई रेस्टुरेन्ट बेच्नुहुन्छ ?’

सञ्चालकले भने- ‘भइहाल्छ नि तपाईंले सञ्चालन गर्नुहुन्छ भने त हामी धेरै खुसी हुन्छौं ।’ पर्यटन व्यवसायमा संलग्न कल्याणले रेस्टुरेन्ट व्यवसाय सुरु गर्छु भनेर कहिल्यै सोचेका थिएनन् ।

अनि सुरु भयो भेगन हाउस क्याफे एन्ड रेस्टुरेन्ट

२० लाख रुपैयाँ लगानी गरेर उनले भेगन रेस्टुरेन्ट त सञ्चालन गरे, तर कसरी अगाडि बढाउने भन्ने अन्योल भयो । तर बिस्तारै उनले रेस्टुरेन्टको डेकुरेसन परिवर्तन गरे, खानामा नयाँ नयाँ परिकार थपे ।

‘रेस्टुरेन्टमा फाइदा त छैन, किनकि नेपालमा भेगन नै धेरै छैनन् । भेगन रेस्टुरेन्टमा गएर के खाने भन्ने हुन्छ मान्छेहरूलाई । तर मैले यसलाई अभियानको रूपमा लिएको छु । धेरै मान्छेलाई भेगन खानाको बारेमा थाहा होस् र भेगन किन हुने भन्ने पनि थाहा होस् भनेर मैले यसलाई सञ्चालन गरिरहेको छु,’ उनी सुनाउँछन् ।

क्रूरतारहित जीवनयापन अपनाउने र जनावरहरूको हितका लागि काम गर्ने लक्ष्यको साथ यो रेस्टुरेन्ट सञ्चालन गरिरहेको उनले सुनाए ।

भेगन हाउस क्याफे एण्ड रेस्टुरेन्टको विशेष परिकार

रेस्टुरेन्टले मांसाहारीहरूलाई पनि आकर्षित गर्नका लागि बिरुवाको स्रोतबाट बनेको ‘प्लान्ट बेस मिट’बाट बनेका परिकारहरू बनाउँछ ।

एकपटकमा ६० जना बसेर खान सकिने यो रेस्टुरेन्टमा बिरुवाबाट बनेको मासु जस्तै ‘सिटान’बाट बनेको सिटान छोइला, सिटान चिल्ली र बिरयानी, म:म, भेगन आइसक्रिम लगायतका खानेकुरा लोकप्रिय छ । सिटान भेगन हाउस क्याफे एन्ड रेस्टुरेन्टले आफैं उत्पादन गर्छ । जुन टोफु, चुकन्दर, गहुँ गुल्टेन, आलु स्टार्च, मटर प्रोटिन, सिमी, नरिवलको तेल र विभिन्न तरकारीको प्रयोगबाट बन्छ ।

भेगन हाउसको सिटान झ्वाट्ट हेर्दा मासु जस्तो, स्वाद पनि लगभग मासुको जस्तो तर मासु होइन । त्यसैले पनि सिटानबाट बनेका परिकारमा मानिसहरूको चासो बढ्दो भएको सिलवाल बताउँछन् ।

कस्तो छ मेनु ?

सामान्य रेस्टुरेन्ट पाइने परिकार भन्दा फरक परिकार पाइने भएकाले यहाँको परिकार महंगो होला नि भन्ने प्रश्न धेरैको मनमा उठ्न सक्छ । तर अन्य सामान्य रेस्टुरेन्टको जस्तो मेनु भेगन हाउसमा पनि भएको सिलवाल बताउँछन् ।

‘यहाँ भेगन मःम को २५० रुपैयाँ पर्छ भने सिटान छोइला, चिल्लीको ४०० रुपैयाँ पर्छ । भेगन थालीको भने ६०० रुपैयाँ पर्छ,’ उनी भन्छन् ।

रैथाने खानालाई ब्रान्डिङ गर्दै

जति खाना हाम्रो गाउँघरमा सजिलै पाइन्छ त्यसलाई हामीले बेवास्ता गर्छौं । तर भेगन हाउसले त्यसलाई जगेर्ना गर्न खोजेको छ । सिस्नोको खोले साग, फापरको ढिंडो रोटी, भक्का, योमरी र बेलको सर्बत जस्ता रैथाने र मौसमी परिकार भेगन हाउसमा पाइन्छ ।

मर्यादित महिनावारीको पहल

भेगन हाउसको अर्को विशेषता भनेको मर्यादित महिनावारीको पहल पनि हो । सिलवाल भन्छन्, ‘रेस्टुरेन्ट आउने कतिपय महिला महिनावारी भइरहेका हुन्छन् । उनीहरूलाई प्याड परिवर्तन गर्नका जाने आफूसँग अतिरिक्त प्याड छैन भने के गर्ने भन्ने चिन्ताले नसताओस् भनेर हामीले हाम्रो रेस्टुरेन्टको शौचालयमा निःशुल्क प्याड राखिदिएका छौं । जसले गर्दा महिलाहरूले आवश्यक पर्दा प्रयोग गर्न सकुन् र सहज महसुस होस् ।’

आकर्षक एम्बियन्स

भेगन हाउसमा बसेर खाना खाइरहँदा कतै शान्त बगैंचामा बसेर खाना खाए जस्तो महसुस होस् भनेर वरवर धेरै फूल बिरुवा रोपिएका छन् । बुद्ध, ओसो लगायत गुरुहरूको फोटो भित्तामा झुन्डाइएको छ, जसले शान्त महसुस गराउने सिलवाल बताउँछन् ।

रेस्टुरेन्टकी सहसञ्चालक अर्चना भुर्तेल भन्छिन्, ‘भनिन्छ नि हामीले जस्तो खाना खान्छौं, हामी त्यस्तै हुन्छौं । त्यसैले भेगन हाउसमा आएर शान्त वातावरणमा बसेर क्रूरतारहित खाना खाँदा त्यसले हाम्रो सोचाइलाई पनि सकारात्मक बनाउँछ ।’

रेस्टुरेन्टको वातावरण शान्त र फराकिलो भएकाले खाना खान मात्र हैन, मेडिटेसन गर्न समेत उपयुक्त छ । साथै रेस्टुरेन्टबाट भएको आम्दानीको १० प्रतिशत सडक जनावरलाई खाना खुवाउन प्रयोग गर्ने गरेको उनी बताउँछिन् ।

फोटो, भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?