(Translated by https://www.hiragana.jp/)
डिभिलियर्स र गेललाई पछि पार्दै साहिल बने सर्वाधिक छिटो शतक हान्ने खेलाडी – Online Khabar
+

डिभिलियर्स र गेललाई पछि पार्दै साहिल बने सर्वाधिक छिटो शतक हान्ने खेलाडी

२०८१ असार  ४ गते ६:०१ २०८१ असार ४ गते ६:०१
डिभिलियर्स र गेललाई पछि पार्दै साहिल बने सर्वाधिक छिटो शतक हान्ने खेलाडी

४ असार, काठमाडौं । इस्टोनियाका ब्याटर साहिल चौहान अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् ।

उनले इस्टोनियाबाट साइप्रसविरुद्ध दोस्रो टी-२० आईमा २७ बलमा शतक हान्दै दुई दुर्लभ विश्व कीर्तिमान बनाएका छन् ।

६ खेलको सिरिज अन्तर्गत दोस्रो खेलमा १९२ रनको लक्ष्य पछ्याएको इस्टोनियाले १३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । साहिल चौहान ४१ बलमा ६ चौका र १८ छक्कासहित सर्वाधिक १४४ रनमा नट आउट रहे ।

यसअघि गत फेब्रुअरीमा टीयु मैदानमा नामिबियाका जेन निकोल लोफ्टी इटोनले टी-२० आईमा  नेपालविरुद्ध ३३ बलमा शतक हानेका थिए । उनले उक्त कीर्तिमान तोडेका हुन् । नेपालका कुशल मल्लले टी-२० आईमा मंगोलियाविरुद्ध सन् २०२३ मा ३४ बलमा शतक हानेका थिए । सन् २०१७ मा दक्षिण अफ्रिकाका डेविड मिलरले बंगलादेश तथा भारतका रोहित शर्माले श्रीलंकाविरुद्ध समान ३५ बलमा शतक हानेका थिए ।

साहिल टी-२० आईमा एकै खेलमा सर्वाधिक १८ छक्का हान्ने खेलाडी पनि बनेका छन् । उनले अफगानिस्तानका हज्रतुल्लाह जजाई र न्युजिल्यान्डका फिन एलेनको समान १६ छक्काको कीर्तिमान तोडेका हुन् ।

साहिल अन्तर्राष्ट्रिय मान्यता प्राप्त कुनैपनि खेलमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी पनि बनेका छन् । गत अक्टोबरमा अष्ट्रेलियाका ज्याक फ्रेजर म्याक गुर्कले लिष्ट ए मान्यता खेलमा २९ बलमै शतक हानेका थिए । उक्त शतक नै अन्तर्राष्ट्रिय क्रिकेटको सर्वाधिक छिटो थियो ।

लिष्ट ए, प्रथम श्रेणी, टी-२०, टी-२० आई, ओडीआई र टेस्ट खेललाई अन्तर्राष्ट्रिय मान्यता मानिन्छ । यी बाहेक टी-१० क्रिकेटमा २७ बल भन्दा कममा शतक बनेको छ । तर टी-१० लाई अन्तर्राष्ट्रिय मान्यता मानिदैन । सन् २०१९ मा दुबईमा इंग्ल्यान्डका विल ज्याक्सले सर्रेबाट ल्याङ्कशायरविरुद्ध टी१० खेलमा २५ बलमा ११ छक्का र ८ चौकासहित शतक हानेका थिए ।

दक्षिण अफ्रिकाका एवि डिभिलियर्सले वेस्टइन्डिजविरुद्ध ओडीआई सन् २०१५ मा खेलमा ३१ बलमा शतक हानेका थिए । ओडीआईमा त्यो नै सर्वाधिक छिटो शतक हो ।

यसअघि टी-२० क्रिकेटमा सर्वाधिक छिटो क्रिस गेलले आईपीएल सन् २०१३ मा पूणे वारियर्सविरुद्ध रोयल च्यालेन्जर्स बेंगलोरबाट ३० बलमै शतक हानेका थिए ।  टेस्टमा न्युजिल्यान्डका ब्रेन्डन म्याकुलमले २०१६ मा अष्ट्रेलियाविरुद्ध ५४ बलमै शतक हानेका थिए ।

साहिल चौहान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय